नेकपा सचिवालय बैठक स्थगित


 


काठमाडौं, जेठ २७

एमसीसीबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको नेकपाले जनाएको छ । नेकपा महासचिव विष्णु पौडेलले संसदको छलफल लम्बिएकाले बैठक सरेको र दुई अध्यक्षले नयाँ मिति तय गर्ने बताए ।

आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।

संसदको यसै अधिवेशनमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने टुङ‍्गो लगाउन नेकपामाथि दबाब छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

एमसीसीबारे छलफल गरेर पारित गर्ने वा नगर्ने निर्णयमा पुग्न बोलाइएको सचिवालय बैठक समय नमिलेका कारण स्थगित भएको नेताहरूले बताएका छन्।

दुई अध्यक्षबीच एउटा समझदारी भएर त्यसलाई पार्टी बैठकका ल्याउन कतिपय नेताले सुझाव दिएका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्