कोरोना संक्रमित मृत्यु प्रकरणः अस्पतालसँग प्रष्टीकरण


 


भरतपुर, जेठ २९

भरतपुर अस्पतालमा सारिएका कोरोना सङ्क्रमित बिरामीको मृत्युपछि जिल्ला प्रशासन कार्यालय चितवनले बिरामी सारी पठाएको नारायणी सामुदायिक अस्पताललाई पत्राचार गरी के–कति कारणले पठाएको हो जवाफ माग गरेको छ ।

प्रशासनले पठाएको पत्रमा कोभिड–१९ सङ्क्रमित सघन उपचारकक्षमा उपचाररत बिरामीले के–कति कारण र कसको निर्णयले त्यहाँको अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको हो जवाफ दिन भनिएको छ । पत्रमा त्यहाँका अस्पतालमा उपचारार्थ आउने बिरामी तथा सेवा प्रवाहमा खट्ने चिकित्सक र स्वास्थ्यर्कीको सुरक्षाका लागि के–कस्तो पूर्व सावधानीका उपाय अवलम्बन गराउने गरिएको छ, जवाफ मागिएको छ ।

यस्तै कोरोना सङ्क्रमित बिरामी उपचाररत स्थानबाट अर्को भरतपुर अस्पतालमा स्थानान्तरण गर्दा स्थानीय प्रशासनसँग समन्वय र भरतपुर अस्पतालसँग समन्वय सहमति भए गरेको हो, होइन ? भएको भए कुन तह र पदाधिकारीको समन्वय र सहमति भएको हो ? भनी प्रश्न गरिएको छ । प्रशासनले यथाशीघ्र अस्पतालको आधिकारिक यथार्थ धारणा के हो विस्तृतरूपमा पछिसम्म फरक नपर्ने गरी खुलाइ पठाइदिन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएपछि सो अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका—११ का ६८ वर्षीय सङ्क्रमितलाई सोमबार साँझ भरतपुर अस्पताल पठाइएकामा मङ्गलबार बिहान मृत्यु भएको थियो ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्