कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो


 



बुटवल, जेठ ३२
गुल्मीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जेठ १२ गते संक्रमण पुष्टि भएका उनी क्यान्सर र पायल्सका विरामीसमेत रहेको तम्घास अस्पतालका डा. कविराज भुसालले बताए । उनकाअनुसार थप उपचारका लागि जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याइएको थियो ।

जेठ २ गते भारतबाट आएर उनी धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका थिए । नेपाली सेनाले राति नै उनको शव धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित एक जंगलमा व्यवस्थापन गरेको छ ।

यो सँगै गुल्मीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसभन्दा पहिले मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको रूपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्