पहिरोले च्यापिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते


 



डोटी, असार २१
डोटीमा पहिरोले च्यापिएर एक ६ महिने शिशुको ज्यान गएको छ भने आमा गम्भीर घाइते भएकी छन् । पूर्वीचौकी गाउँपालिका वडा नं ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो ।

अबिरल वर्षासँगै आइतबार बिहान घर पछाडीबाट आएको पहिरोले च्यापिएर उनको ज्यान गएको हो । मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली पनि पहिरोमा च्यापिएर गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएर उपचार सानागाउँ प्रहरीचौकी इञ्चार्ज नारायण बडुले जानकारी दिए ।

उनको कम्मर भन्दा तल्लो शरीरमा पहिरोले च्यापिएर गम्भीर चोट लागेको छ । पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती, दुइ छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्