पाँचथरमा कोरोना संक्रमण तीब्र, फिदिममा लकडाउन घोषणा


 



पाँचथर, कात्तिक १९
पाँचथरमा कोरोना संक्रमण तीब्र बनेको छ । समुदायस्तरमा कोराना संक्रमण फैलिएपछि सतर्कता अपनाइएको छ । पछिल्लो रिपोर्ट अनुसार सदरमुकाम फिदिममा मात्रै १४ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म पाँचथरमा ५५ जनालाई कोरानो संक्रमण भएको हो। जसमध्ये २२ जना आइसोलेशनमा छन् भने बाँकी निको भइसकेका छन्। मिक्लाजुङ गाँउपालिकामा ७ जना सक्रिय संक्रमित छन्। समुदायस्तरमा संक्रमण फैलिएपछि गाँउपालिका सिल गरिएको मिक्लाजुङ गाँउपालिकाका प्रशासकीय अधिकृत अनिल खत्रीले जानकारी दिए। फाल्गुनन्द गाउँपालिकामा पनि तीन जनामा संक्रमण भेटिएको थियो।

जसमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको र अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए। कोरोनाको महामारी सुरु भएको लामो समयपछि पाँचथरमा समुदायस्तरमा संक्रमण फैलिएको हो। दसैं लगत्तै समुदायस्तरमा कोरोना फैलिएको हो।

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि फिदिममा लकडाउन घोषणा गरिएको छ। फिदिम नगरपालिकाको आकस्मिक बैठकले कार्तिक १९ गते राती १२ बजेदेखि मंसिर २ गते राति १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो।

अत्यावश्यक सेवाबाहेकका सबै व्यवसाय र यातायात बन्द हुने गरी लकडाउन घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्