आयो घरमै बसेर कोरोना परीक्षण गर्न मिल्ने किट


 



घरमै बसेर पनि कोरोना परीक्षण गर्न मिल्ने किट आएको छ । कोरोना परीक्षण गर्न सकिने किटले मान्यता पाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिस्ट्रेसन (यूएसएफडीए)ले यस खालको कोभिड परीक्षण किटलाई मान्यता दिएको छ ।

यस किटले घरमै रहेर आफैँले कोभिड परीक्षण गर्न सकिने र आधा घण्टामा नतिजा आउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । लुसिसा हेल्थले निर्माण गरेको यस किटलाई यूएसएफडीएले मंगलबार मान्यता दिएको खबरमा भनिएको छ ।

आफैंले आफ्नो नाकबाट स्वाब निकाली किटमा राखेर परीक्षण गर्न सकिन्छ । यूएसएफडीएका अनुसार यसलाई १४ वर्षभन्दा माथिका व्यक्तिले प्रयोग गर्नसक्छन् । यो तत्काल परीक्षण गर्नु परेका बेला उपयोगी हुने र अस्पतालमा पनि यसको प्रयोग गर्न मिल्ने यूएसएफडीएले जनाएको छ ।

घरमै व्यक्ति आफैँले कोभिड परीक्षण गर्न मिल्ने यो पहिलो प्रविधि हो । अहिले विश्वभर आरटी पिसिआर विधिबाट कोभिडको परीक्षण भइरहेको छ । यसबाहेक आरडिटी र एन्टिजेन विधिबाट पनि कोभिड परीक्षण भइरहेको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्