बैतडीमा जीप दुर्घटना : पाँच जनाको मृत्यु, चार घाइते


 


बैतडी, मंसिर ९
बैतडीमा आज दिउँसो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा आज दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा परेर चार जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

तीव्र गतिका कारण जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्