बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्यो, तीनजना बेपत्ता


 


काठमाडौं, मंसिर ११
बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अर्न्तगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ४ स्थित नाग्दी खोला नजिकबाट भ्यान नदीमा खसेको हो । 

प्युठान जिल्लाबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहिबार बिहान साढे पाँच बजे त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिए। पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सूर्य थापाका अनुसार दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते भएका छन्। टाउको र पेटमा चोट लागेका उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचार भइरहेको छ।

वेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जेनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका छन्। पिकअप भ्यान समेत पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ । बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी कुरिनटारको गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्