खाद्य व्यवस्था धनगढीलाई धान व्यवस्थापन गर्न गोदाम अभाव, आफ्नै दुई गोदाम भने भाडामा


 



अंकुश कुँवर/धनगढी, मंसिर २२
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीलाई अहिले धान व्यवस्थापनमा गोदाम अभाव भएको छ । आफ्नो दुई ठूला गोदाम केन्द्रबाट नै अरुलाई भाडामा दिएको र भएका बाँकी गोदामको क्षमता कम भएपछि खरिद गरिएको धान कहाँ राख्ने भन्न समस्या भएको हो ।

अहिले कैलाली र कञ्चनपुरमा धान खरिद गरिरहेको खाद्यले आफ्नै गोदाम र केही भाडाका गोदाममा धान राखिरेहेको छ । भएका गोदाम प्रयाप्त नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताए । उनले भएका गोदाम पनि निकै कम क्षमता भएका र त्यसमध्ये पनि केही चुहिने र डुबानमा पर्ने खालका भएको बताए ।

उनकाअनुसार कैलालीको मोहनपुरमा १०÷१० हजार क्वीन्टल क्षमताका चार गोदाम छन् । तर खाद्यले दुईवटा मात्रै प्रयोग गर्न पाएको छ । दुई वटा गोदाम विश्व खाद्य कार्यक्रमलाई केन्द्रबाटै भाडामा दिएको छ । जसले गर्दा यहाँ पनि धान कहाँ राख्ने भन्ने समस्या नै छ । ‘कम्पनी आफैलाई गोदाम चाहिएको छ, तर केन्द्रबाट नै भाडामा दिएको छ,’ उनले भने, ‘मैले केन्द्रमा गोदाम भाडाबाट हटाउन वा अर्को गोदाम तयार पार्न आवश्यक भनेर जानकारी गराउँदा पनि सुनुवाई भएन ।’ मोहनपुर र टीकापुर क्षेत्रमा २०÷२० हजार क्वीन्टल क्षमताका गोदाम आवश्यक छ भनेर पत्राचार पनि गरेको उनले बताए । तर अहिले नै गोदाम बन्ने सम्भावना नदेखिएको उनले बताए ।

धनगढीमा कार्यालयसंगै रहेको गोदाममा पनि अहिले सारथी अस्पताललाई भाडामा दिइएको छ । ट्राफिक दृष्ट्रिकोण गोदाम प्रयोग गर्न समस्या भएपछि कार्यालयसंगै रहेको गोदाम भाडामा दिनुपरेको प्रमुख श्रेष्ठ बताउँछन् ।

अहिले मोहनपुरमा रहेका गोदाममध्ये दुई गोदाममा २४ हजार क्वीन्टलसम्म धान कोचेर राख्ने गरिएको छ । उनकाअनुसार टीकापुर क्षेत्रमा अहिले जम्मा पाँच हजार क्वीन्टल क्षमताको गोदाम छ, त्यो पनि चुहिने खालको । ‘झण्डै २० हजार क्वीन्टल क्षमताको गोदाम आवश्यक पर्ने ठाउँमा अहिले पाँच हजार क्षमताको गोदाम हुँदा धान राख्न निकै समस्या छ,’ उनले भने, ‘बरु अहिले त्यो चुहिने समस्या समाधानका लागि केही पैसा आएको छ ।’ धान व्यवस्थापनका लागि अस्थायी गोदाम खोज्दै धान खरिद गर्नुपर्ने अवस्था आएको प्रमुख श्रेष्ठको भनाई छ । अहिले गोदाम अभावमा केही दिन धान खरिदको काम पनि रोकिने गरेको उनले बताए ।

भजनी र जोशीपुरमा पनि पाँच÷पाँच हजार क्षमताका दुई गोदाम भाडामा लिइएको छ । त्यसमध्ये पनि जोशीपुरमा पूरानो फिल्म हललाई गोदामका रुपमा भाडामा लिएको छ । त्यो पनि वर्षाको समयमा डुवानमा पर्ने समस्या छ । ‘पोहोर साल पानी पसेर डेढ सय क्वीन्टल धान भिज्यो,’ उनले भने, ‘जहाँ बढी धान उत्पादन वा खरिद हुन्छ ती क्षेत्रमा खाद्यको पूर्ण क्षमताको आफ्नै गोदाम हुन आवश्यक छ ।’ उनकाअनुसार जिल्लाका पूर्वी क्षेत्र बढी धान उत्पादन हुने र बढी धान खरिद हुने क्षेत्र हो ।

सत्तीमा पनि पाँच हजार क्षमताको गोदाम छ तर यहाँ अहिले बर्दियाको राजापुर कार्यालयले हेरिरहेको छ । राजापुरमा खाद्यको आफ्नै मिल भएकाले त्यहाँ नजिक पर्ने हुँदा त्यो क्षेत्र राजापुरले नै हेरिरहेको हो ।

आफ्नै स्वामित्वमा भएका र भाडामा लिएका सबै गोदाममा अहिले धान राख्ने समस्या भइरहेका बेला चामल कहाँ राख्ने भन्ने अर्को चिन्ता थपिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । ‘धानलाई अस्थायी गोदाम बनाएर बाहिरै राख्ने सकिने अवस्था भएपनि चामललाई त्यसरी राख्न सकिदैन,’ उनले भने, ‘चामल उत्पादन भइसकेपछि कहाँ राख्ने भन्ने चिन्ता छ ।’ उनकाअनुसार गत वर्षकै २४ हजार क्वीन्टल चामल गोदाममै छ । बजारको भन्दा खाद्यको चामल बढी महंगो हुँदा विक्री हुन सकेको छैन । व्यापारीले सुरुवातमै सस्तोमा धान खरिद गर्ने र सस्तोमै बेच्ने हुँदा खाद्यले बजारसंग प्रतिस्पर्धा गर्न सकेको छैन । खाद्यले खरिद मूल्य र विक्री मूल्यमा समायोजन गर्न नसक्दा चालम विक्री नुहने समस्या छ । जसले गर्दा धान चामल गोदाममै मोज्जाद हुने गरेको छ । यसले पनि गोदाम अभावको अवस्था सृजना भएको छ ।

भाडामै गोदाम खोजौं भनेपनि चार÷पाँच लाख रुपैयाँ भन्दा कमको नभेटिएको प्रमुख श्रेष्ठको भनाई छ । ‘भाडामा लाग्ने पैसा भन्दा कम मूल्यमा आफ्नै गोदाम भाडामा दिइएको छ,’ उनले भने, ‘आफ्ना गोदाम सस्तोमा भाडामा दिएर महंगोमा भाडामा गोदाम लिने अवस्था पनि हुँदैन ।’

खाद्यको धनगढी कार्यालयलाई यस वर्ष ६५ हजार क्वीन्टल धान खरिद गर्नुपर्ने कोटा तोकिएको छ । शुक्रबारसम्म ३० हजार क्वीन्टल धान खरिद भइसकेका कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस वर्ष कोटाअनुसारनै धान खरिद हुने बताए । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल दुई हजार सात सय ३५ रुपैयाँ तोकेको छ । यो समर्थन मूल्य बजार मूल्य भन्दा बढी हो । यही हिसावले यस वर्ष पनि खाद्यले पछि चामल महंगोमै विक्री गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्