अध्यादेश फिर्ता लिन ओली सहमत, नेपाल र प्रचण्डपनि पछि हटे


 



काठमाडौं, पौष १
लामो सम्बादपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।

नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधर्न) अध्यादेश, २०७७ ल्याएका थिए । सो अध्यादेश सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले हतारमा जारी गरेकी थिइन् ।

अध्यादेश ल्याइएपछि सत्तारुढ दल नेकपाभित्रैबाट ओलीको चर्को आलोचना भएको थियो भने प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत चर्को विरोध गरेको थियो ।

ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि आफ्नो अडानबाट पछि हटेका छन् । ओलीले मंगलबार अध्यादेश ल्याएपछि प्रचण्ड नेपाल समूह संसद अधिवेशन बोलाउनका लागि दवाव दिन राष्ट्रपतिलाई नै हस्ताक्षर बुझाउन पुगेको थियो ।

तर बुधबार महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीच बालुवाटारमा भएको वार्तामा ‘ओलीले अध्यादेश फिर्ता लिने र प्रचण्ड–नेपाल समूह संसद बैठक बोलाउने अडानबाट पछि हट्ने’ सहमति भएको हो ।

मंगलबार ओलीले अध्यादेश ल्याएसँगै नेकपाभित्रको विवाद थप चर्किएको थियो भने ओली इतर समूहले ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो । जसअनुसार दुई पक्षबीच विवादले चरम रुप लिएकै बेला बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो ।

नेकपाका ८३ जना सांसदसहितको हस्ताक्षर संसद अधिवेशनका लागि राष्ट्रपतिकहाँ बुझाइएपनि दर्ता भने भइसकेको छैन ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्