राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, यी चार समझदारीपत्रमा हस्ताक्षर हुने


 



काठमाडौं, चैत्र ९
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा आज  ढाका प्रस्थान  गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटालगायतले बिदाइ गरेका छन् ।

नेपाल एयरलाइन्सको विशेष बिमानबाट उनी बंगलादेश प्रस्थान गरेकी हुन् ।  उनको भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, वाणिज्यसचिव दिनेश भट्टराई, पर्यटन सचिव यादब कोइरालासहित २७ जना छन्  ।

गणतन्त्र स्थापनापछि बङ्लादेशमा नेपालबाट पहिलोपटक राष्ट्रपतिको भ्रमण भएको हो । राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदलगायत उच्च अधिकारीसँग आज भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई देशका वाणिज्य र पर्यटन सचिवहरुबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि तय भएको छ । समकक्षी हमिदले आजै राजकीय रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।

राष्ट्रपति बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको १०० औं जन्मजयन्ति तथा बंगलादेश स्वतन्त्रताको ५० औं बर्षगाँठका अबसरमा आयोजित विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ । 

आजै राष्ट्रपति भण्डारीलाई बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री डा। एके अब्दुल मोमेनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

बंगलादेशका राष्ट्रपति हमिदले गत बर्ष कात्तिक २६ देखि २९ सम्म नेपालको भ्रमण गरेका थिए । यसअघि बंगलादेश र नेपालका प्रधानसेनापतिहरुले एकअर्को मुलुकको औपचारिक भ्रमण पनि गरिसकेका छन् ।

राष्ट्रपति भण्डारीले ढाकामा नेपाल बंगलादेश सम्बन्धबारे सम्बोधन गर्ने पनि कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत मिश्रका अनुसार नेपाल र बंगलादेशका आपूर्ति सचिबहरुबीच रोहनपुर सिंघाबाद रेलवे रुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । नेपालबाट वाणिज्य सचिब दिनेश भट्टराईले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

नेपाल र बंगलादेशबीच अतिरिक्त पारबहन रुटका रुपमा यसलाई लिइएको छ  र यो तेस्रो मुलुकका लागि व्यापार र पारबहनका लागि सहयोगी हुने जानकारहरुको भनाई छ ।

उनका अनुसार कृषिसम्बन्धी स्यानिटरी तथा फाइटोस्यानिटरी सहयोग सम्बन्धी अर्को सम्झौता हुनेछ । यसमा पनि वाणिज्य सचिब भट्टराईले नेपालका तर्फबाट हस्ताक्षर गर्नेछन् ।

दुई देशबीच पर्यटन प्रबद्र्धन सम्बन्धी एउटा तथा २०२२ देखि २०२५ सम्म सांस्कृतिक आदनप्रदान गर्ने सम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।

यी सम्झौतामा नेपालका तर्फबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिब यादब कोइरालाले हस्तार गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी ढाकाबाट मंगलवार अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
 

प्रकाशित मिति: ९ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्