पश्चिमी वायु पनि भित्रियो, हावाहुरीसँगै चट्याङ्ग र असिनापानीको सम्भावना


 



काठमाडौं, वैशाख ४
स्थानीय वायु सक्रिय भएका बेला नेपालमा आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ ।

दुई वायु प्रणाली एकैसाथ सक्रिय भएपछि
देशका केही पहाडी र तराई क्षेत्रमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्लीकै अवस्था रहने महाशाखाले जनाएको छ ।

आज र भोलि पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरीसहित असिना पानी परेको थियो ।

लामो समयदेखि खडेरी परेका बेला परेको असिना पानीले कतै कतै क्षति गरे पनि खेती लगाउन तयार किसानलाई राहत पुगेको छ । साथै डढेलो र प्रदूषणको असर घटाउन अहिले परेको पानी महत्त्वपूर्ण रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्