गैरआवसीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह : ‘बेलायती लगानी भित्र्याउन लाग्नुस्, सरकारले आवश्यक सुविधा दिन्छ’


 


काठमाडौं, कार्तिक १४
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा शनिबार यहाँ भएको कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।

गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

गैरआवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डनमा रहेका छन् । शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा कार्यक्रममा आयोजना गरेको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्