राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज हुँदै


 


काठमाडौं, पौष २०
आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुँदै छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जानकारी दिए । आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ ।

प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुरधाम, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् । राष्ट्रिय सभामा रिक्त १९ सदस्यमध्ये सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहबाट निर्वाचित हुनेछन् ।

आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

नेकपा (एमाले) का १२, माओवादी केन्द्रका चार र नेपाली काँग्रेसबाट निर्वाचित तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि निर्वाचन हुन लागेको हो । आयोगले निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरू १४ सय ९३ गरी कुल २०२५ जना मतदाता हुने जनाएको छ ।

त्यस्तै, पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्