साइबर ब्यूरोले भन्यो – अपरिचित आईडीबाट आएका रिक्वेस्ट एवम् कल रिसिभ नगर्नू


 


काठमाडौं, कार्तिक २४
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक वा ह्वाट्सएपमा अपरिचित आईडीबाट आएका रिक्वेस्ट एवम् कल स्वीकार नगर्न अपील गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै ब्यूरोले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो अपिल गरेको हो ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी साथी बन्न अनुरोध पठाउने, साथी बनेपछि भिडियो कलमा कुराकानी गर्ने, अस्लिल कुराकानी गर्ने, गर्न उक्साउने र त्यसपछि भिडियो रेकर्ड गरेर ब्ल्याकमेल गरी रकम ठगी गर्ने जस्ता कार्य बढेकाले सचेत बन्न प्रहरी उपरीक्षक एवम् ब्यूरोका उपनिर्देशक भाग्येन्द्र पुरुष ढकालले जारी गरेको सूचनामा उल्लेख छ ।

‘विगत केही समयदेखि केही व्यक्तिरआपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी अपरिचित ब्यक्ति आफैले अश्लिल कृयाकलाप देखाई सम्बन्धित व्यक्तिलाई झुक्यानमा पारी उक्साई अश्लिल कृयाकलापमा संलग्न हुने वातावरण बनाई भिडियो कलको रेकर्ड गरी तत्पश्चात साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु पछिल्लो समय धेरै नै बढ्दै गइरहेको छ,’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्