समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं- देवकोटा


 


काठमाडौं, बैशाख १३
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् ।

बुधवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताए । त्यस्तै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको क्रमशः १६५ र ३३० मात्र बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ । प्रतिनिधि सभा र प्रदेशसभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऔँ ।’

देवकोटाले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टीको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी दलको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरौँ।’

प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्