रेशम चौधरीलाई सर्वोच्चबाट पनि जन्मकैदको फैसला, उच्च अदालत फैसला नै सदर


 


काठमाडौं, जेठ २ । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई सर्वोच्च अदालतबाट पनि जन्मकैदको फैसला भएको छ । सर्वोच्चले जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । यो मुद्दामा लक्षमण चौधरीलाई तीन वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ । उच्च अदालत दिपायलले भने उनलाई जन्मकैदको सजाय तोकेको थियो ।

सर्वोच्चले यही घटनामा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । उच्च अदालत दिपायलले उनीहरुलाई जन्मकैद र ज्यान मार्ने उद्योगको आरोपमा ५÷५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्