ढाकाकुमारको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन


 


काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन ।

अन्तरिम आदेश नहुँदा नयाँ रास्वपालाई सांसद निर्वाचित गर्ने बाटो खुलेको छ । रास्वपाले गरेको कारबाही अवैध भएको भन्दै उनी सर्वोच्च पुगेका थिए ।

यसअघि सो रिटमाथि अल्पकालीन अन्तरिम आदेश दिँदा नयाँ सांसद निर्वाचितको निर्णय कार्यान्वयन गर्न रोकिएको थियो ।

सो रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाई गर्दै बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि घुस दिन भन्दै रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गर्दै सांसदबाट समेत हटाएको थियो । सभामुखले उनको पद रिक्त भएको सूचना सुनाइसकेका छन् ।

त्यसपछि निर्वाचन आयोगले रास्वपाको निर्णयअनुसार विध्यावासिनी कंसाकारलाई सांसद निर्वाचित भएको निर्णय गरेको थियो । तर, सोही बेला सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदा त्यो निर्णय कार्यान्वयन भएको थिएन ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्