कर्णालीका मुख्यमन्त्रीको चेतावनी : गणतन्त्रमाथि धावा बोेल्नेलाई डाँडो कटाउन नपरोस्


 


काठमाडौं, जेठ १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेविरुद्ध कडा रुपमा चेतावनी दिएका छन् ।

१६औं गणतन्त्र दिवसको अवसरका कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले गणतन्त्रको व्यवस्थामाथि धावा बोल्नेलाई डाँडो कटाउने चेतावनी दिए ।

उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै गणतन्त्रको विरुद्धमा नबोल्न चेतावनदी दिए । केहीदिन अघि बसेको कर्णाली प्रदेशसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वडामहाराजधिराज भनेर सम्बोधन गरेकी थिइन् ।

उनको सम्बोधन र राजाको बढ्दो सक्रियतालाई लक्षित गर्दै मुख्यमन्त्री शर्माले यस्तो चेतावनी दिएका हुन् । ‘गणतन्त्र लामो संघर्षको जगबाट आएकाले हो, यसका विरुद्ध लाग्नेलाइ डाँडो कटाउन नपरोस्। जनतालाई जिस्काउने काम कसैले नगरोस्।’

यसअघि सांसद शाहीले गरेको सम्बोधनप्रति प्रदेशसभामा उपस्थित सबै दलका सांसदहरुले विरोध जनाउँदै रेकर्डबाट हटाउनसमेत माग गरेका थिए ।

तर सभामुख नन्दा गुरुङले आफ्नो ध्यानाकर्षण भएको बताएपनि उक्त शब्द रेकर्डबाट भने हटाइनन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्