Deshko News
६ आश्विन २०८०, शनिबार

रेशम चौधरीलाई रिहा गरिएको विरोधमा कञ्चनपुरमा प्रदर्शन



कञ्चनपुर, जेठ १६ । जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई सरकारले आममाफी दिएको भन्दै कञ्चनपुरमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ शुक्लाफाँटा नगर कार्य समितिले टिकापुर घटनाका मुख्य आरोपी रेशमलाई सरकारले माफी दिएको भन्दै झलारीमा बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले प्रचण्ड सरकार मुर्दावाद, गणतन्त्रको हत्या गर्न पाइँदैन, यस्तो सरकार चाहिँदैन लगायतका नारा लगाएका थिए । टिकापुर हत्याकाण्डका मुख्य नाइके चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएकोमा सरकारले राजनीतिक स्वार्थका कारण कानुनको धज्जी उडाउँदै आममाफी दिनु गलत भएको नेवि संघका नगर संयोजक रमेश रावलले बताए ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई आममाफी दिइनुले न्यायालयको हत्या गरिएको अनुभूति आफूहरुले गरेको उनको भनाई छ।

सरकारको आग्रहमा राष्ट्रपतिले चौधरीलाई आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। टीकापुरमा २०७२ को भदौमा थरूहट संघर्ष समितिले गरेको आन्दोलनका क्रममा भएको झडपमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News