योगेश भट्टराईको आरोप– सत्ता पक्षका कार्यकर्ताले एमाले नेतामाथि आक्रमण गर्यो


 


काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कोशी प्रदेश एमाले नेताहरुमाथि सत्ता पक्षका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले एमाले नेताहरुमाथि हमलाको निरन्तर प्रयास भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाए ।

सत्तापक्षकै कार्यकताले हिजो पनि कोशी प्रदेशका एमाले संसदीय दलका उपनेता राम राना र उपसभामुख सिर्जना दनुवारमाथि हातपातको प्रयास भएको भन्दै आपत्ति जनाए ।

आक्रमणको प्रयास गर्ने, गाडी जलाउने लगायतको प्रयास गर्दा पनि सरकार रमिते बनिरहेको आरोप लगाउँदै त्यसको जवाफ सरकारसँग माग गरे ।

प्रदेशको नामकरण गर्ने विषय प्रदेशकै अधिकार भएकाले त्यसलाई लिएर एमालेमाथि आक्रमण हुनु दुःखद भएको उनले बताए । प्रदेश राजधानीको नामकरण विषयलाई लिएर एमालेमाथि भइरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिने हो भने एमालेले संसद बैठक सूचारु हुन नदिने सचिव भट्टराईले चेतावनी समेत दिए ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्