त्रिभूवन विमानस्थलमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, एक जना पक्राउ


 


काठमाडौं, जेठ २८ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।

नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानी नियन्त्रणमा लिइएको लागू औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए ।

खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाएको छैन ।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्