शुक्रबार समाजबादी मोर्चा घोषणा हुँदै, बाबुराम असन्तुष्ट


 


काठमाडौं, जेठ ३२ । नेकपा माओबादी केन्द्रसहितका दलहरु मिलेर भोलि (शुक्रबार) समाजबादी मोर्चा घोषणा हुँदैछ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लामो प्रयासपछि समाजवादी मोर्चा घोषणा हुन लागेको हो ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका हुन् । यद्यपि तत्काल पार्टी एकताको सम्भावना भने देखिएको छैन ।

मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सामेल गराउने प्रयास भइरहेको नेकपा माओबादी केन्द्रका नेताहरु बताउँछन् । तर भट्टराई भने प्रचण्डसंग असन्तुष्ट देखिएका नेसपा तत्कालै सहभागी नहुने भएको छ ।

समाजवादी केन्द्र घोषणाबारे डा. भट्टराईसँग बिहीबार दिउँसोसम्म केही छलफल नभएको बुझिएको छ ।

विप्लव मोर्चामा सहभागी हुन राजी भएका छन् । उनलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लामो प्रयासपछि मोर्चामा सहभागी गराउँदैछन् ।

नेकपा एसका नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहेको पुष्टि गरे ।

समाजवादी मोर्चा बनेसँगै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थप शक्तिशाली बन्ने भएका छन् ।

तेस्रो निर्णायक शक्तिको सदुपयोग गर्दै प्रधानमन्त्री बनेका प्रचण्ड मोर्चा घोषणा भएपछि ५४ सीटको नेतृत्व गर्नेछन् ।

प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ । माओवादीको ३२ सीटमा नेसपाको दुई सांसद छन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्