वडाध्यक्षको नाकको डाँडी भाँचिदिने युवक पक्राउ


 


काठमाडौं, असार १ । झापा कचनकवलका गाउँपालिका वडा– ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँचिदिने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर ६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको हो।

बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल पुगेका वडाध्यक्ष मियाको गाँडीमा मोटरसाइकलमा रहेका पनेरु सामान्य रूपमा ठोक्किएपछि रिसको झोकमा पनेरुले हेलमेटले वडा अध्यक्ष मियामाथि हेलमेट प्रहार गरेर घाइते बनाएको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको समयमा लडेको र उठेर हेलमेटले मियालाई कुटेका थिए ।

अध्यक्ष मियाको नाकको दुबै डाँडी भाँचिएको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

पीडितले दोषीलाई कडा कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन् ।

वडाध्यक्षलाई कुटेर भाग्न खोजेका पनेरुलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्