बालेनको चेतावनीलाई चलचित्र संघको चुनौती, सबै हलमा लाग्यो ‘आदिपुरुष’


 


काठमाडौं, असार १ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्द नहटाएसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म चल्न नदिने भनेर दिएको चेनावनीलाई चलचित्र संघले चुनौती दिँदै हलमा फिल्म लगाएको छ ।

‘आदिपुरुष’मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै बालेनले सामाजिक सञ्जालमार्फत फिल्न चल्न नदिने चेतावनी देखिएका थिए ।

चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा सबै हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताए ।

हलवालाहरुले पनि आधिकारिक पत्र नआएको कारण देखाउँदै मध्यान्हदेखि महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा ल्याइसकेकोका छन् ।

कायस्थले आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको पनि बताए । मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघले आकस्मिक बैठक बोलाएको थियो ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि आपत्ति जनाएका थिए ।

उनले जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सो शब्द सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । त्यसका लागि ३ दिनको समय दिइएको उनको भनाइ थियो ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्