मोर्चा निर्माणमा असन्तुष्ट बाबुरामले भेटे प्रचण्ड, के भयो कुराकानी ?


 


काठमाडौं, असार १ । सामाजबादी मोर्चा निर्माणमा असन्तुष्ट रहेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

समाजवादी मोर्चा घोषणा गर्नेलगायतका बारेमा छलफल गर्न भट्टराई र प्रचण्डबीच भेटवार्ता भएको हो ।

आज (शुक्रबार) नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको समाजबादी मोर्चा गर्ने तयारी छ ।

शुक्रबार बिहान भएको भेटमा प्रस्तावित समाजवादी मोर्चा, भारत भ्रमण, संघीय बजेट, शान्ति प्रक्रियाका बाँकी काम लगायतका विविध विषयमा कुराकानी भएको डा. भट्टराईले ट्वीटरमार्फत जानकारी दिए ।

उनले लेखेका छन्– ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो ।’

‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी’ भएको भट्टराईले उल्लेख गरेका छन् ।

पछिल्लो समय समाजबादी मोर्चा निर्माणका विषयमा उनी प्रचण्डदेखि असन्तुष्टि थिए ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्