विवादित अंश नहटाएसम्म सबै भारतीय फिल्म रोक्न बालेनको आग्रह, मन्त्रालयलाई पठाए पत्र


 


काठमाडौं, असार १ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भारतीय फिल्म आदिपुरुषमा समावेश विवादित अंश नहटाएसम्म सबै भारतीय फिल्म रोक्न सरकारलाई आग्रह गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै मेयर बालेनले फिल्मबाट ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गरेका हुन् । उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६)ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेख गर्दै बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्न समेत उनले आग्रह मन्त्रालयलाई आग्रह गरेका छन् ।

बिहीबार एक स्टाटस लेख्दै उनले तीन दिनभित्र उक्त संवाद नहटाए काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्