राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना, ‘अब्जर्भेसन’मा राखियो


 


काठमाडौँ, असार २ । राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । उनको मुटुको चाल कम भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (महाराजगन्ज) मा भर्ना गरिएको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालमा कमी आएपछि उनलाई अब्जर्भेसन’मा राखिएको हो। यसका लागि कम्तीमा २४ घण्टा राख्नुपर्छ। साथै उनलाई कमजोरी महसुस पनि भएको छ।

राष्ट्रपति पौडेललाई अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेल र वरिष्ठ मुटुरोग विशेषेज्ञ डा. भगवान् कोइरालाले हेरिरहेका छन्।

हृदयाघातको उपचार गराएर गत बुधबार मात्र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) बाट डिस्चार्ज भएका पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई आज बिहान ३ बजे मनमोहनमा भर्ना गरिएको हो।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो।

यसअघि गत वैशाखमा राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्ली गएर उपचार गराएका थिए।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्