परमेश्वरले ठीक गर्छन् भन्दै उपचार गर्न रोक्दा बालकको मृत्यु, ३ जना पक्राउ


 


बुटवल, असार ५ । समाजको अन्धविश्वासका कारण बर्दियामा ८ वर्षीय बालकले अकालमै ज्यान गुमाएका छन्।

ईश्वरको प्रार्थना गरे सञ्चो हुने विश्वास दिलाई उपचार गराउन रोक्दा गुलरिया नगरपालिका १० कालाबञ्जारका बालक अजय यादवको मृत्यु भएको हो ।

गत शुक्रबार बिरामी भई अचेत अवस्थामा रहेका बालकलाई अस्पताल नलगी प्रार्थना गर्न लगाएका थिए। त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए। बालकको मृत्युपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका ४ तुलापुरका ३९ वर्षीय राजु शाही, ३८ वर्षीया गीता शाही र ३५ वर्षीया निशा नेपाली रहेका छन्। उनीहरुले बालकका अभिभावकलाई प्रार्थना गरे ठीक हुने विश्वास दिलाई स्थानीय ‘सत्य वचन परम ईश्वरीय मार्ग दर्शन’ नामक संस्थामा पुर्‍याएर प्रार्थना गर्न लगाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

‘बिरामी बालकका अभिभावकलाई औषधी उपचार गराउन अस्पताल लैजानु पर्दैन प्रार्थना गरे परमेश्वरले ठीक पार्नुहुन्छ भन्ने भ्रममा पारेको पाइयो,’ उनले भने।

बिरामी बालकलाई राखेर अभिभावकले प्रार्थना गर्दागर्दै उनको शुक्रवार नै मृत्यु भएको थियो। छोराको मृत्युपछि अजयका बुबाले आफूलाई भ्रममा पारेर औषधी उपचार गर्न अस्पताल लान नदिइ छोराको मृत्यु भएको भन्दै तीन जनाविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्