बझाङ जीप दुर्घटना : मन्त्री सिंह पनि रहेनन्, मृतकको संख्या तीन पुग्यो


 


धनगढी, असार ५ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पनि ज्यान गएको छ । 

दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिए ।

उनलाई बझाङबाट हेलिकप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको थियो । यससँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । मन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्