सम्पर्कविहीन छोरा २४ वर्षपछि घर फर्किँदा…


 


बागलुङ, असार ६ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त रेग्मी २४ वर्षपछि घर परिवारको सम्पर्कमा आएका छन् । कामको सिलसिलामा बेलायत गएका उनी लामो समयपछि परिवारको सम्पर्कमा आएका हुन् ।

उनी बेलायतबाट २०६८ सालमै नेपाल फर्किएपनि घर परिवारको सम्पर्कमा आएका थिएनन् । काठमाडौंमा भौतारिरहेको अवस्थामा उनलाई उद्दार गरेर घर परिवारको सम्पर्कमा ल्याइएको हो ।

२४ वर्षपछि छोरो सम्पर्कमा आएपछि ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीका खुशीमा आँसु खसेका छन् । उनी कान्छो छोरा हुन् । ‘कान्छो छोराको आश मारिसकेको थिएँ,’ आमा रेग्मीले भनिन्, ‘छोरा अब घर फर्कियो बुढेसकालको सहारा हुने भयो ।’

उनी २०५६ माघमा घर छोडेर रोजगारीका लागि बेलायत गएका थिए । बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा आउन नसकेका चन्द्रदत्त २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ ।

बेलायतमा धनसम्पत्ति जोडेर नेपाल आउन चाहे पनि विविध कारणले उनले बेलायतमा स्थायी बसोबासका लागि अनुमति (पीआर) नपाएपछि उनी परिवारको सम्पर्कमा नआएका हुन् ।

बेलायतमा पीआर नबनेपछि २०६८ सालमा नेपाल फर्किएका चन्द्रदत्त घर नफर्केर पुनः कामका लागि विभिन्न जिल्लामा भौँतारिएका थिए । उनी २४ वर्षपछि मात्रै सम्पर्कमा आएको बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

वडाअध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भने अनुसारको सबै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौंबाट घरमा ल्याएका हुन् ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्