बालक आत्महत्या : होस्टल वार्डेनविरुद्ध दुरुत्साहन मुद्दा


 


काठमाडौं, असार ६ । काठमाडौंको काठमाडौं महानगरपालिका–१६ बहती पोखरीमा रहेको इलिप्स (इटर्नल लाइट पब्लिक हाई स्कूल) का होस्टल वार्डेनविरुद्ध बालक आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ।

१२ वर्षीय बालकलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै होस्टल वार्डेन रायन भनिने रामप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर भएको हो।

इलिप्स स्कुलमा पढ्दै होस्टलमा बस्दै आएका १२ वर्षीय अभिषेक तामाङलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

स्कुलको होस्टलमा बस्दै आएका ती बालकलाई शारीरिक र मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप सापेकाटाविरुद्ध लागेको छ।

गत जेठ १७ गते राति साढे १२ बजेतिर स्कुलको होस्टलमा बस्दै आएका ती बालक खाटको डण्डीमा झुण्डिएको अवस्थामा भेटिएका थिए। हरियो रङको कराँतेको बेल्डको पासो घाँटीमा लगाएको अवस्थामा मृत भेटिएका थिए।

त्यसपछि बालककी आमा सन्दिरा तामाङले वार्डेन सापकोटा, प्रिन्सिपल दीर्घहरि दाहाल र शिक्षक पुरुषोत्तम अधिकारीविरुद्ध दुरुत्साहनको जाहेरी दिएकी थिइन्।

आफ्ना १२ वर्षीय छोरालाई ट्वाइलेट सफा गर्न लगाउने, कुटपिट गर्ने, शारिरीक तथा मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको भन्दै उजुरी दिएकी थिइन्।

त्यसपछि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको थियो। जाहेरी दिएकामध्ये प्रिन्सिपल र शिक्षक निर्दोष देखिएका छन् ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्