Deshko News
१४ आश्विन २०८०, आइतबार

दुर्घटनामा निधन भएका मन्त्री सिंहको अन्त्येष्टि शनिबार गरिने



काठमाडौं, असार ७ । गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीनैजनाको अन्तिम संस्कार शनिबार गरिने भएको छ ।

सिंहका जेठा छोरा अभिशेक डेनमार्कमा रहेकाले उनी फर्केपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । सिंहका छोरा शुक्रबार नेपाल आइपुग्ने आफन्तले बताएका छन् ।

त्यतिन्जेल तीनैजनाको शव जिल्ला अस्पतालमा राखिने प्रहरीले जनाएको छ । बझाङमा मंगलबार भएको गाडी दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयादेवीको निधन भएको थियो ।

मन्त्री सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार धनगढीको रंगशालामा राखिएको थियो । सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र मुख्यमन्त्री कमलबहादुर शाहलगायतले राष्ट्रिय झन्डा ओढाए र श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्रीहरू, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, सर्वसाधारण, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय तथा आफन्तले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News