मन्त्री सवार गाडी दुर्घटना : सचिवको नेतृत्वमा छानविन टोली गठन


 


धनगढी, असार ७ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान जानेगरी बझाङको केदास्यूँ गाउँपालिकामा भएको दुर्घटनाको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी), सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका छन् ।

समितिलाई सवारी दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाएर १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सु.प.प्र. ००१ झ. ४८० नम्बरको मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो।

दुर्घटनामा मन्त्री सिंहसहित उनकी धर्म पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। दुर्घटनामा मन्त्री सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्