सिँचाइको मोटर तारबाट करेन्ट लागेर किसानको मृत्यु


 


धनुषा, असार २४ । धनुषाको कमल नगरपालिका–२, माचिझिटकैयामा खेतमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

सिँचाइ गर्न प्रयोग गरिएको विद्युतीय मोटरको तार हटाउने क्रममा करेन्ट लागेर आइतबार बिहान सोही वडाका ५५ वर्षीय सूर्यदेव ठाकुरको मृत्यु भएको हो ।

ठाकुर आफ्नै धान खेतमा सिँचाइ गर्न गएका बेला छिमेकी सत्यनारायण यादवको खेतमा ओछ्याएको मोटरको तार हटाउन जाँदा उनलाई करेन्ट लाग्न पुगेको बताइएको छ ।

ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्