गायक रविन तामाङको अन्त्येष्टि गरिँदै, राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण


 


काठमाडौं, असार २४ । गायक तथा अभिनेता रविन तामाङको आज (आइतबार) अन्त्येष्टि गर्न लागिएको छ ।

अन्तिम श्रद्धाञ्जलीपछि उनको अन्त्येष्टि गरिँदैछ । केहीबेर अघिसम्म उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको निम्ति नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको थियो ।

बिहान​ नक्सालस्थित​ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको श्रद्धाञ्जली सभामा​ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले दिवंगत तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ४ का सांसद गगन थापा पनि नक्साल पुगेका थिए ।

अन्तिम श्रद्धाञ्जलीपश्चात उनको शवलाई अन्तिम संस्कारका लागि बिजेश्वरीस्थित शोभाभगवतीमा लगिएको छ । तामाङ परम्पराअनुसार उनको दाहसंस्कार गरिने जनाइएको छ ।

नेपाली रक ब्याण्ड ‘रबिन एन्ड दी रिभोलुसन’ का गायक, संगीतकार तथा अभिनेता रविनको गत मंगलबार साँझ ६० वर्षको उमेरमा घरमै रहस्यमय निधन भएको थियो ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्