बजेट सक्ने चटारो, शनिवार मात्रै सवा १६ अर्ब खर्च


 


काठमाडौं, असार २४ । चालु आर्थिक वर्ष सकिन लाग्दा बजेट सक्न खर्च गरिँदैछ । आर्थिक वर्षको अन्तिम दिन आज (आइतबार) हो । अन्तिम दिनको अघिल्लो दिन (शनिबार) मात्रै सवा १६ अर्ब रुपैयाँ खर्च भएको छ ।

शनिवार १६ अर्ब २३ करोड २२ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो खर्च मध्ये चालु खर्च १० अर्ब ६७ करोड ७ लाख रुपैयाँ र पुँजीगत खर्च ५ अर्ब ५६ करोड १५ लाख रुपैयाँ भएको छ।

केही साता यता सरकारले खर्च बढाउन दैनिक निकै उच्च मात्रामा अर्बौँ खर्च गर्दै आएको छ । तर, विकास खर्चका रुपमा चिनिने पुँजीगत खर्चको मात्र भने उल्लेख्य रुपमा वृद्धि हुन् सकेको देखिएको छैन ।

चालु आर्थिक वर्षमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म १ खर्ब ८४ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । तथापि महालेखा नियन्त्रकको कार्यालयले आज २४ गते आइतबारको राति १२ बजेसम्म खर्च गर्ने समय सीमा तोकिदिएको छ ।

हरेक वर्षको अन्तिममा सरकारको पुँजीगत खर्च ह्वातै बढ्ने गरेको इतिहासलाई यसबर्ष पनि सरकारले कायम राखेको हो।

सरकारले चालु आवको बजेटमार्फत यो वर्ष चालु खर्च ११ खर्ब ८३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा हालसम्म ९ खर्ब ८३ अर्ब ३८ करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्षको ८३.११ प्रतिशत हो ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्