कोशीमा मन्त्री छनोटप्रति माओवादीभित्र असन्तुष्टि


 


विराटनगर, असार २४ । कोशीमा प्रदेश सरकारका मन्त्री छनोटप्रति माओबादी भित्रै असन्तुष्टि पैदा भएको छ ।

उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएपछि असन्तुष्टि सार्वजनिक भएको हो ।

उदयपुर २ (१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनको नाम मन्त्री हुनेमा पक्का जस्तै भएका बेला अन्तिममा नाम काटिएपछि उनी आक्रोशित बनेका हुन् । उनले यसले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको बताएका छन् ।

आइतबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई÷दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’

कोशीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् । माओवादीका एक प्रदेशसभा सदस्यका अनुसार सुरुमा जीवन आचार्य र नारायण बुर्जा मगरलाई पठाउने दलको तयारी थियो ।

तर आइतबार उनको ठाउँमा पार्टीले राजेन्द्र कार्कीलाई सरकारमा पठाउने निर्णय गरेको हो । प्रचण्डका ज्वाइँ आचार्य भने यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री थिए ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्