मर्निङ वाकमा हिँडेका महिलाको सिक्री लुट्ने गिरोह पक्राउ


 


काठमाडौं, असार २४ । मर्निङ वाकमा निस्किने महिलाहरूको शृङ्खलाबद्ध रुपमा सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मर्निङ वाकका क्रममा महिलाहरूलाई पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेर प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले बिस दिनमै एकै तरिकाले आठ वटा सिक्री लुटेका थिए । घटनाबारे जानकारी पाएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेराको खोजी तीव्र पारेको थियो ।

अनुसन्धानका क्रममा सिक्री लुट्ने योजना काभ्रेको पाँचखाल नगरपालिका ७ घर भई हाल बानेश्वर बस्ने उमेश क्षेत्रीले बनाएका थिए । चोरी गर्ने रामेछापको लिखु गाउँपालिका १ घर भई हाल काठमाडौँको हाँडी गाउँ बस्ने रवीन दमाई रहेको र उनि सबार मोटर साइकल चलाउने सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल चाबहिल बस्ने रवि विक रहेको खुलासा भएको प्रहरीको दाबी छ ।

चोरीको सुन बिक्री गर्न सहयोग गर्ने धनकुटा घर भई हाल राम मन्दिर बस्ने राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बङ्गाल घर भई हाल न्यु रोड बस्ने श्रीकान्त मैतीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

असार २२ गते नै पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान पुरा गरी आज उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार चोरी गरेकै बाइक प्रयोग गरेर मर्निङ वाकमा निस्किने महिलालाई पछ्याउने र आफुलाई लुट्न र भाग्न अनुकूल हुने ठाउँ आएपछि महिलालाई पछ्याएर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

सिसिटिभी फुटेजका आधारमा अनुसन्धान थालेको प्रहरीले सबै घटनामा महिलालाई पछ्याएर लुट्ने रविन दमाईलाई बुढानीलकण्ठ स्थित पार्क भिलेज होटेल नजिकैबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का १ थान (११.२ ग्राम), सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका मोटरसाइकल दुई वटा, मोबाइल फोन ६ थान र सुनको नेकलेस एक थान बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्