सकियो तीन शीर्ष नेताको छलफल, ओलीले फेरि भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ’


 


काठमाडौं, असार २५ । संघीय संसदको अवरोध खुलाउनका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताबीच संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको बताइएको छ । यद्यपि यसको आधिकारिक जानकारी दिइएको छैन ।

छलफलबाट निस्किँदै गर्दा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष ओलीले यसबारे ‘पार्लियामेन्ट’मै थाहा हुने जवाफ दिएका छन् । उनले हिजोको छलफलपछि पनि यस्तै जवाफ दिएका थिए ।
आज प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्दैछ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद अवरोध गरिरहेका छन्।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्