राष्ट्रिय चिकित्सक संघले माग्यो स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा


 


काठमाडौं, असार २८ । राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ ।

स्वास्थ्यमन्त्री बस्तेनले दिएको विवादास्पद अभिव्यक्तिमा आपत्ति जनाउँदै राष्ट्रिय चिकित्सक संघले राजीनामा माग गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले ‘खटाएको स्थानमा नजाने कर्मचारीले आत्महत्या गर्छु भन्दा आफूले डोरी दिएर झुण्डिन पठाउनु’ भन्ने अभिव्यक्ति दिएका थिए ।

मन्त्री बस्नेतको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ । मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघले माग गरेको छ ।

संघका अध्यक्ष डा. पुष्पमणि खरालले जारी गरेको विज्ञप्तिमा आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति आएको भन्दै मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने विषय उल्लेख छ ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्