बन्धक बनाएर ५० लाख फिरौती मागेको आरोपमा एक जना पक्राउ


 


सुनसरी, असार २८ । अपहरण गरी बन्धक बनाएर ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

फिरौती मागेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बस्ने २९ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई आज (विहीबार) सार्वजनिक गरेको छ ।

प्रहरी टोलीले बस्नेतलाई धरानबाट उदयपुर तर्फ भाग्दै गर्दा बराहक्षेत्र–१ स्थित झण्डाचोकबाट गत असार २५ गते पक्राउ गरेको थियो । उनलाई सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्ने अनुमति पाएपछि सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार गत वैशाख २५ गते घरायसी सामान खरिद गर्न भारतीय सीमा क्षेत्रमा रहेको बेला बजारमा गएका वराहक्षेत्र–५ का सौगात भण्डारी, सोही ठाउँका छविलाल आचार्यलाई अपहरण गरि बन्धक बनाएका थिए ।

छविलाल र सौगात चढेको मोटरसाइकल नियन्त्रणमा लिएर इम्तियाज भन्ने व्यक्तिसहित ७ जनाको टोलीले पेस्तोल देखाउँदै उनीहरूको अपहरण गरेको आरोप लागेको छ ।

अपहरणपछि बन्धक बनाएर सौगात भण्डारीको परिवारसँग गत वैशाख २६ गते फिरौतीबापत ५० लाख रुपैयाँ माग गरेका थिए । माग गरेजति फिरौती नबुझाए ज्यान मार्नेसमेत धम्की दिएपछि भण्डारीको परिवारले तत्काल १ लाख ५० हजार रुपैयाँ अपहरणकारीको समूहलाई बुझाएका थिए ।

अपहरणकारीलाई फिरौती बापत १ लाख ५० हजार बुझाए पनि अपहरणकारीले मुक्त नगरेपछि बन्धक अवस्थामै छविलाल र सौगात गत वैशाख २७ गते अपहरणकारीको हातबाट भागेर नेपाल आई प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्