देउवासँग भेटवार्ता गर्दैमा मिल्यो भन्न मिल्दैन : शेखर कोइराला


 


काठमाडौं, साउन १८ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासंग भेटवार्ता गर्दैमा देउवासंग नै मिल्यो भन्न नमिल्ने बताएका छन् । आज (बिहीबार) नेपाल प्रेस युनियन काठमाडौँको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले कोइरालाले सभापति देउवासँग मिलेको भाष्य खडा गरिएकोप्रति आपत्ति जनाए । १५ औँ महाधिवेशन आउन साढे दुई वर्ष बाँकी रहेको भन्दै उनले गुटको द्वन्द्व देखाउन आउन नहुने बताए ।

‘कांग्रेस र गुटभित्रको द्वन्द्व लेखिराख्नु भएको छ । अधिवेशन आउन कम्तीमा पनि ढाइ वर्ष बाँकी छ,’ उनले भने, ‘शेरबहादुर देउवाजीसँग म कहाँ मिलेँ ? कहिले मिलेँ ? यस्तो कुरा नलेखिदिनुस् । केन्द्रीय समिति बैठकमा मैले राखेको १५ बुँदा पढेर लेखिदिनुस् । ’

कसैलाई गाली गर्नभन्दा कांग्रेसलाई मजबुत बनाउन लाग्नुपर्ने कोइरालाको भनाइ छ । १४ औँ महाधिवेशनमा पाएको ४० प्रतिशत मतलाई ६० प्रतिशत कसरी पुर्याउने भनेर जानुपर्ने उनले बताए । ‘म नेपाली कांग्रेसको सांसद हो । म कुनै ग्रुपको सांसद होइन । मन्त्री मैले पठाउने कुरा आउँदैन । विवादको कुरालाई सुल्टाउँछौंं,’ कोइरालाले भने ।

यस्तै अर्को प्रसंगमा बोल्दै नेता कोइरालाले मुलुक अराजकतातिर जान लागेको बताए । ‘मुलुकमा दण्डहीनता पनि छ । अदालतले दोषी ठहर गरेकाहरूलाई पनि हामी छाडिदिन्छौँ । यसले देशलाई अराजकतातिर जान्छ ।’

नेपालमा भ्रष्टाचारका कारण विकास हुन नसकेको उनको भनाइ छ । ‘नेपालमा एफडिआइको प्रचुर सम्भावना छ । तर, भ्रष्टाचार, ब्युरोक्रेशीको ढिलासुस्ती, अस्थिर सरकार, नियम ऐन झन्झटिलो हुँदा विकास हुन सकेको छैन भनेर नेपालबारे अमेरिकी रिपोर्टमा कारण उल्लेख छ । हाम्रो देश भ्रष्टाचारले गाँजेको छ,’ उनले भने ।

यस्तै उनले ललिता निवास, सुन काण्डमा कर्मचारी र भरियालाई मात्र पक्राउ गरिएको नेता कोइरालाले बताए । उनले भ्रष्टाचार र तस्करीका नाइकेहरू छुट्ने तर टिप्पणी उठाउने शाखा अधिकृतहरू जेल पर्ने खालका गतिविधि भइरहेको बताए ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्