राष्ट्रिय सभाको बैठक बस्दै, एमालेको अवरोध कायम नै रहने


 


काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बिहीबार) दिउँसो १ बजेका लागि बस्दैछ । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध भने कायम नै छ ।

एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान यथावत् राखेको हो । एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बैठक चल्न नदिने जानकारी दिए।

यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनले बताए ।

एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो ।

एमालेले अवरोध जारी गरेपछि प्रतिनिधिसभा बैठक भने साउन २२ गतेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्