माओवादीको केन्द्रीय कमिटीमा थपिएका २२ महिला सदस्य, को–को हुन् ?


 


काठमाडौं, साउन १९ । सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ।

माओवादी केन्द्रले पछिल्लोपटक २२ जना महिला सदस्य थप गरेर केन्द्रीय कमिटीको आकार ४०७ पुर्‍याएको हो। थपिएका सदस्यहरू आजदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्।

माओवादी केन्द्रले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाललाई केन्द्रीय सदस्य थप गरेको हो।

यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी पनि थपिएका केन्द्रीय सदस्य हुन्।

२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउने निर्णय गरे अनुसार लामो समयपछि महिला सदस्य थप गरिएको हो ।

बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो।

उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा २२ महिला नेता थपिएका हुन्। त्यसअघि केन्द्रीय कमिटी ३८५ सदस्यीय थियो।

१७ गतदेखि चलेको केन्द्रीय कमिटीमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमा धारणा राखिरहेका छन्। बैठक आइतबारसम्म चल्ने छ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्