भारतको उत्तराखण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता


 


सुर्खेत, साउन १९ । भारतको उत्तराखण्ड प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् ।

पहिरोमा परेर हुम्लाका १० जना र जुम्लाका ७ जना बेपत्ता भएका छन् । जसमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको खुलेको छ ।

हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए । उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ । पहिरोमा परेर होटेल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले उल्लेख गरेको छ । उनीहरूको थर भने खुलेको छैन । वीरबहादुरकै होटेलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् ।

यस्तै, पहिरोमा परी अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उनीहरू कुन ठाउँका हुन् भने खुलेको छैन । बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।

घाइते भएका कर्णालीका अधिकांश व्यक्तिहरू रोजगारीका लागि भारत गएका थिए । बेपत्ता भएका १९ जनामध्ये १७ जना नेपाली भएको बताइएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्