आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


 


काठमाडौं, भदाैं ७
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभावले देशभर मौसम आंशिक देखि सामान्य बदली छ ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षा हुने क्षेत्रहरूबाट बहने नदीमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्