संविधान दिवस तीन दिनसम्म मनाउने निर्णय


 


काठमाडौं, भदौ १७ । नेपाल सरकारले विविध रचनात्मक कार्यक्रमसहित संविधान दिवसलाई तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो।

बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ। कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन्।

असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्।

असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन्।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्