ललिता निवास प्रकरण : आइतबार थुनछेक बहस सक्ने तयारी


 


काठमाडौं, भदौ २२ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आइतबार थुनचेक बहस सक्ने तयारी गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले बहस हुन बाँकी रहेका १० प्रतिवादीहरूको शुक्रबार र आइतबार बहस सक्दै आइतबार नै फैसला सुनाउने तयारी गरेको हो। यसका लागि न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न पनि आग्रह गर्दै आएका छन्।

जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा अहिले थुनछेक बहस चलिरहेको छ । हालसम्म ८ जना अभिवक्ताले प्रतिवादीका तर्फबाट बहस सकेका छन्।

ललिता निवास प्रकरणमा १८ जना आरोपी थुनामा छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा २८९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी गरिएको छ।

ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका कुल ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। यीमध्ये २१ जनाको मृत्यु भइसकेको छ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन्। त्यस्तै ६ जना पूर्वसचिवहरूलाई पनि अभियोग लगाइएको छ। बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोगपत्र दायर भएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्