टिकापुर घटनाका थप चार जनाको कैद मिनाहा, कैलालीबाट तीन जना रिहा


 


धनगढी, असोज ३ । टिकापुर घटनामा थप चार जना कैदीबन्दीको कैद मिनाहा गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार कैलाली कारागारमा रहेका तीनसहित चार जनाको कैद मिनाहा गरिएको हो ।

बाँकी कैद मिनाहा गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा भएको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए ।

तिमिस्लिनाका अनुसार उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।

त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् ।

रिहा भएकाहरूलाई नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्